Main News

प्रधानमन्त्री ओली पार्टी विवाद र चुनावका तयारीका विषयमा छलफल गर्न आयोग जाँदै

हिमालय टिभी
२०७७ माघ २७ गते ८:५३

२७ माघ २०७७ काठमाडौं । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफू पक्षका नेतासहित आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी पेश गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले आगामी मध्यावधि निर्वाचनको तयारीबारे आयोग पदाधिकारीसँग ब्रिफ लिने तयारी समेत भएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो ।

संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरिरहनुभएको छ ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड(नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने आयोग जानुभएको थिएन ।

ओली आज बिहान ११ बजेपछि आयोगको कार्यालय जाने तय भएको हो । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्डनेपाल पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *