Main News

सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पायो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते २०:१२
सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पायो (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पाएको छ । आज शुरु भएको प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

झण्डै ६ महिनापछि शुरु भएको सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्यले भागरथी हत्याको विषय जोड तोडका साथ उठाए । प्रदेश सांसदहरुले संघीय सरकार मात्रै होइन, प्रदेश सरकारको भूमिकामाथि गम्भीर प्रश्न समेत उठाएका छन् । बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य लीलाधर भट्टले बैठकको शुरुमै घटनाको अनुसन्धान तथा छानबिनमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध गर्नुभयो ।

बैठकको विशेष समयमा सांसदहरुले प्रदेश सरकारले आफ्नो भूमिका देखाउन नसकेको र संघीय सरकारको मुख ताकेर बसेको टिप्पणी गरे । संघीय सरकारले सबै अधिकार हातमा लिएकाले बलात्कारका घटना बढिरहेको र अपराधी खुलेआम घुमिरहेको सत्तारुढ नेकपाकै सांसदको आरोप छ ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा जस्तै भागरथी हत्यामा पनि सरकार चुकिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप छ । सुदूरपश्चिम प्रदेश नै बलात्कारीले प्रश्रय पाउने स्थान भएको भन्दै कांग्रेसले सरकारको अस्तित्वमाथि नै प्रश्न उठाएको छ ।

दोषी पत्ता लगाएर छिटो कारवाही गर्न र बलात्कारका घट्ना हुन नदिन शान्ति सुरक्षाको प्रत्याभूति गर्न सांसदहरुको माग छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २५ गते शव फेला परेको थियो । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिए पनि अपराधी पत्ता लाग्न सकेको छैन । मृतकका आफन्तले दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । र, धेरैको चिन्ता यसपपटक पनि निर्मला पन्त प्रकरणमा जस्तै हुने हो कि भन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *