भागरथी बलात्कार र हत्याको घटना प्रदेशसभामा प्रवेश, प्रदेश सरकारले ध्यान नदिएको आरोप
२६ माघ २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पाएको छ ।
प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनालाई सरकारले गम्भिरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य लीलाधर भट्टले बैठकको शुरुमै घटनाको अनुसन्धान तथा छानबिनप्रति प्रदेश सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।
बैठकको विशेष समयमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भागरथी प्रकरणको अनुसन्धान संघीय सरकारमा निहित देखिएको बताउनुभयो ।
नेपाली कांग्रेसको संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि घटना भएको ६ दिन बित्दा समेत घटनाबारे सत्यतथ्य बाहिर नआउँदा दुःखद् भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीको संसदीय दलको नेता कृष्णबहादुर चौधरीले पनि बैतडी घटनामा संलग्नलाई चाँडै कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
दोगडाकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २५ गते शव फेला परेको थियो। मृतकका आफन्तले दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।
प्रतिक्रिया