Main News

भागरथी भट्ट हत्यामा नजिककै व्यक्तिको संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

हिमालय टिभी
२०७७ माघ २५ गते १४:४५
भागरथी भट्ट हत्यामा नजिककै व्यक्तिको संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

२५ माघ २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले भट्टको हत्या परिचित व्यक्तिबाटै भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । गत बुधबार भट्टको शव जंगलको बीचमा हत्या गरेर फालेको अवस्थामा फेला परेको थियो।

यौनाङ्गबाट रगत बगिरहेका कारण भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। घटनास्थलमा भट्टले बोक्ने गरेको मोबाइल बरामद भएको थियो। मोबाइलबाट पनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र केही ‘क्लू’ समेत फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान अघि बढाएको छ। बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइ छ।

भट्टको हत्याको निरीक्षणका लागि आज सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआईजी० उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ जानु भएको छ । यसअघि शुक्रबार नै घटनाको छानबिनका लागि सुवेदीले प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइ सक्नु भएको छ ।

एसएसपी पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटाइसकेको छ। अनुसन्धानमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *