Main News

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए, दोस्रो चरणको प्राथमिकता कसलाई ?

हिमालय टिभी
२०७७ माघ २५ गते ९:३७
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए, दोस्रो चरणको प्राथमिकता कसलाई ?

२५ माघ २०७७ काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइनेछ । मन्त्रालयले तय गरेको सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमा कार्यरत व्यक्तिहरू, हवाइ क्षेत्रमा काम गर्नेहरू, विद्युत, नापी, मालपोत, बैंक तथा वित्तीय संस्थाहरू र सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *