संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुखले दायर गरेको रिटमा आज सुनुवाइ
२५ माघ २०७७ काठमाडौं । संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमथि आज सुनुवाइ हुँदैछ ।
सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गर्नु भएको थियो । सो रिटको सर्वोच्च अदालतले आज पेसी तोकेको हो।
पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतले आज टुंगो लगाउनेछ। राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ।
रिटमा संवैधानिक अंगमा नवनियुक्त पाँच जना प्रमुखसहित ३२ जना सबैलाई विपक्षी बनाइएको छ संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मै फिर्ता पठाउनु भएको थियो। तर त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आफै रिट लिएर सर्वोच्च अदालत जानु भएको हो ।
यसअघि २०७२ साल कात्तिक १८ मा न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ र २०७२ सालमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ नहुँदा संसदले परिषदमै फिर्ता पठाइदिएको थियो।
यही नजिर देखाउँदै सभामुख सापकोटाले नियुक्ति बदरको माग गर्नु भएको छ । सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफू अनुकूल बनाएर मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्त्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेको थियो।
प्रतिक्रिया