Main News

किशाेरीका हत्यारा तीन दिनसम्म पनि पत्ता लागेन (भिडियो रिपोर्ट)

हिमालय टिभी
२०७७ माघ २४ गते २०:४३
किशाेरीका हत्यारा तीन दिनसम्म पनि पत्ता लागेन (भिडियो रिपोर्ट)

२४ माघ २०७७ कैलाली । मुख्य विपक्षी दल नेपाली कांग्रेससहितका राजनीतिक दलले बैतडीको चडेपानीकी किशोरी भागरथी भट्ट भूमिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । दोषी पत्ता लगाई कारबाहीको माग गर्दै सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदर्शन पनि भएको छ ।

बैतडीमा भएको किशोरी हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै कैलालीमा प्रदर्शन भएको हो । प्रदर्शनका सहभागीले घटनामा संलग्न दोषी तत्काल पत्ता लगाउन माग गरेका छन् ।

बुधबार विद्यालयबाट घर फर्कँदै गर्दा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्ट बिबीबार मृत अवस्थामा भेटिएकी थिइन् ।

मृतकको तल्लो शरीरको कपडा घुँडासम पुगेको, ज्याकेट फुकालेर छेउमा फालेको, सर्टको बटन च्यातेको, टाउको र हातमा चोट पनि देखिएकाले बलात्कार भएको आशंका गरिएको छ । घटनाको ३ दिन बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्रन सकेको छैन । त्यसैले प्रदर्शनमा सहभागीले दोषी पक्राउ नपर्दासम्म आन्दोलन गर्ने बताएका छन् ।

यो घटना पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनाजस्तै हुने हो कि भन्ने चिन्ता थपिएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति निकालेर पन्तको बलात्कार र हत्यामा जस्तै यो घटनाको अनुसन्धानमा गैरजिम्मेवार नबन्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रचण्ड र नेपालले यो घटनालाई पाशविक र अमानवीय कुकृत्यको संज्ञा दिनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले मर्माहित भएको भन्दै दोषी पत्ता लगाएर कारवाही गर्न माग गर्नुभएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको सीआइबीको टोली पनि खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *