Main News

हिमाली र उच्च पहाडी जिल्लामा बाक्लो हिमपात जनजीवन प्रभावित

हिमालय टिभी
२०७७ माघ २४ गते ७:२२
हिमाली र उच्च पहाडी जिल्लामा बाक्लो हिमपात जनजीवन प्रभावित

२४ माघ २०७७ काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै हिमाली र उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ भने पहाडी जिल्लामा हल्का वर्षा भएको छ ।

मौसममा बदली आएसँगै सुदुरपश्चिमसहित मध्य र पूर्वी क्षेत्रका केही जिल्लामा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

हिमाली जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र दार्चुलामा बाक्लो हिमपात भएको छ । मनाङमा शुक्रबार बिहानैबाट हिमपात भएको छ । तल्लो क्षेत्रको वस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् ।

करिव २ फिटसम्म हिउँ जमेकाले घर बाहिर निस्कन पनि समस्या भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको छ ।

उता हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ । हिमपात हुँदा चिसो अत्यधिक बढेको छ भने तापक्रम माइनसमा झरेको छ । जमिनमा आधा फिटभन्दाि बढी हिउँ जमेको छ भने हिउँ पर्ने क्रम जारी रहेकाले अझै चिसो बढ्ने अनुमान गरिएको छ ।

बाक्लो कुहिरो पनि लागेको कारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न कठिन भएको छ । हिमपातसँगै उत्तरी हुम्लामा तापक्रम दिउँसै माइनस आठ डिग्रीमा झरेको छ ।

यस्तै डोल्पाका विभिन्न उच्च बस्तीहरुमा हिमपात भएको छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको छ । जनजीवन चिसो बने पनि कृषकहरु भने निकै खुसी भएका छन् । हिमपातले डोल्पाका डाँडाकाँडा सेताम्यै भएका छन् ।

मौसमविद्हरुले आज दिउँसोदेखि मौसममा बदली आउने र क्रमश सुधार हुँदै जाने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *