Main News

चीनले नेपाललाई ५ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

हिमालय टिभी
२०७७ माघ २४ गते ७:१२
चीनले नेपाललाई ५ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

२४ माघ २०७७ काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोभिड १९ विरुद्धको खोप सहयोग गर्ने भएको छ।

हिजो साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो सहयोगको घोषणा गरेका हुन् ।

यसअघि ३ लाख डोज दिने भनी नेपालस्थित चिनियाँ दूतावासले घोषणा गरेकोमा मन्त्रीले सो परिमाणलाई बढाएर पाँच लाख डोज दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीसँगको कुराकानीमा वाङले खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने पनि बताएका छन्।

खोप कहिलेसम्म आइपुग्ने त्यसको टुंगो छैन । तर कोभिसिल्डबाहेक खोप आए पनि दोस्रो चरणको खोप अभियान सन्चालन गर्न केही समय लाग्ने देखिएको छ ।

मन्त्रालयको खोप व्यवस्थापन महाशाखाका अधिकारीहरुले पहिलो चरणको खोप अस्पातलहरुमा केन्द्र बनाएर सन्चालन गरिएको हुँदा प्राविधिक रुपमा धेरै तयारी गर्न नपरे पनि दोस्रो चरणको खोप गाउँस्तरमा पुग्ने हुँदा समयमै खोप आए पनि धेरै तयारी गर्नुपर्ने बताएका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप दिने घोषणा गरेको छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात दुई करोड १६ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ। कोभ्याक्स सुविधाबाट प्राप्त हुने बाहेक सरकारले अहिलेसम्म अन्य खरिद प्रक्रिया अघि बढाएको छैन।

सरकार आफूले किनेरभन्दा पनि मागेर नै काम चलाउने मनस्थितिमा छ। भारतले अनुदानस्वरुप दिएको १० लाख डोजको पहिलो चरणको अभियान आजदेखि सकिँदैछ। अहिलेसम्म १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *