Main News

प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप

हिमालय टिभी
२०७७ माघ २३ गते १६:३५
प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप

२३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

बागमती प्रदेश कमिटीले काठमाडौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताउनुभएको हो ।

उहाँले प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताउनुभयो । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—नेपाल समूहलाई व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरु भन्नुहुन्छ, अब शाहाकारी आन्दोलनलाई हुँदैन भनेर । शाहाकारी आन्दोलन हुँदैन भनेको के हो ? चिकेन चिल्ली खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन । शान्तिपूर्ण नेपाल रहन्छ । ”

प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भए पनि प्रचण्ड–नेपाल समूहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “काम गर्न दिइएन बीचमा । मैले धेरैपल्ट भने । यो सरकार ५ बर्षका लागि हो, ५ बर्ष चलाऔ । तर उहाँहरु पार्टी फोड्नुपर्छ , केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसँग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ । देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरु स्थिरता र स्थायित्व भन्नुहुन्छ । के त्यो स्थायित्व हो र ?उहाँहरु जनतालाई धोका दिँदै हुनुहुन्छ । आफ्नो स्वार्थ र व्यक्तिगत अहंकार महत्वकांक्षाका लागि सब काम गर्दै हुनुहुन्छ । जब उहाँहरुले काम गर्न दिनुभएन , लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुराउनुभयो । काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानु प¥यो । ”

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गर्नुभयो । बेलायतको उदाहरण दिदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड–नेपाल समूहले बलजफ्ती बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “देशव्यापी रुपमा एउटा बहस भइरहेको छ । बलजफ्ती यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भने, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन । अथवा त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नु पर्दछ । जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ ।”

प्रचण्ड–नेपाल समूहले संबैधानिक नियुक्तिमा अवरोध गरेको दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो । उहाँले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरतातर्फ उन्मुख भएको बताउनुभयो । उहाँले कार्यकर्तामाझ चुनावी नारा पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “ अस्थिरतातर्फ होइन, चुनावतर्फ जाउँ । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, चुनाव । ”

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रेसडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गर्नुभयो । उहाँले कोभिडविरुद्ध खोप अभियान चलेको उल्ल्ेख गर्दै कोभिड अन्त्य नहुने समयसम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *