Main News

बालबालिकामाथि अनलाइन यौन शोषण बढेको अध्ययनको ठहर

हिमालय टिभी
२०७७ माघ २३ गते १४:१६
बालबालिकामाथि अनलाइन यौन शोषण बढेको अध्ययनको ठहर

२३ माघ २०७७ काठमाडौं । पछिल्लो समय बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताउनुभयो ।

कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उहाँको भनाइ छ । बालबालिकाहरुले अनलाइनमार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको शिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उहाँले बताउनुभयो ।

अनलाइनमार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पनि पाइएको छ ।

बालबालिकालाई अनलाइनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरले बताउनुभयो । अनलाइनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उहाँको भनाइ छ ।

सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्येक्ष रुपमा भेटेर, अन्तर्वार्ता गरेर, समूह छलफल गरेर तथ्य निकालेको जनाएको छ । शुक्रबार सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *