संवैधानिक निकायमा भएको नियुक्ति बदर माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर (भिडियो रिपोर्टसहित)
२३ माघ २०७७ काठमाडौं । संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । रिटमाथि पर्सि आइतबारका लागि पेशी तोकिएको छ ।
सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ ।
रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुखसहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो । संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मै फिर्ता पठाइदिनु भएको थियो ।
तर त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आफै रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको हो ।
यसअघि २०७२ साल कात्तिक १८ मा न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ र २०७२ फागुन २३ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ नहुँदा संसदले परिषदमै फिर्ता पठाइदिएको थियो । यही नजिर देखाउँदै सभामुख सापकोटाले नियुक्ति बदरको माग गर्नुभएको छ ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफू अनुकूल बनाएर मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्त्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो ।
प्रतिक्रिया