Main News

आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७७ माघ २३ गते ९:१०
आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२३ माघ २०७७ काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली हुँदा सुदूर पश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षासँगै हिमपात शुरु भएको छ ।

आज बिहानैदेखि गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ ।

पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउने मौसवविदहरुले बताएका छन् । आज दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलिसम्म जारी रहनेछ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ ।

बिस्तारै तापक्रम पनि बढ्नेछ । मौसम बदलिसँगै बाजुरामा हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् ।

समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *