Main News

आजदेखि दुई दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली हुने

हिमालय टिभी
२०७७ माघ २२ गते ९:४८
आजदेखि दुई दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली हुने

२२ माघ २०७७ काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि पर्सीसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्नेछ ।

सो प्रणालीका कारण आज देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा भोलि प्रदेश २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *