आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज वाग्लेको शंकास्पद मृत्यु

२२ माघ २०७७ सर्लाही । आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद मृत्यु भएको छ।
गएराति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो। प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ।
इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको बताउनुभयो । वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकललाई कुनै सवारी साधनले ठक्कर दिएको जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।
यो सवारी दुर्घटना मात्रै नभएको भन्दै घटना शंकास्पद भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले बताउनु भयो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि वाग्लेको मृत्युलाई शंकास्पद् भन्नु भएको छ ।
नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले हिजो दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी हुनु भएको थियो । पार्टीले नै साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न वाग्ले बरहथवामा बस्नु भएको थियो ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका करिब ५२ वर्षीय वाग्ले पछिल्लो समय संसद विघटनविरुद्धको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । प्रखर वक्ताको रुपमा परिचित वाग्लेका श्रीमती र दुई छोरा छन्।
प्रतिक्रिया