कोरोना महामारीमा पनि ६२ हजार बढी नेपाली विदेशिए

२१ माघ २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीकै समयमा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। साउनयता उनीहरू ९७ मुलुकमा पुगेका हुन् ।
स्वदेशमा अवसर नपाएका युवा विदेश जाने क्रम बढेको हो । कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो।
विभागका अनुसार पुसमा २१ हजार ९ सय नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १६ हजार ८ सय, कात्तिकमा ९ हजार ३ सय, असोजमा ९ हजार ६ सय ३९, भदौमा दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय नेपाली स्वदेश फर्किएका छन्।
कोरोना अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्। तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि फेरि विदेश फर्कनेको संख्या बढी छ। खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्।
स्वदेशमै रोजगारीमा रहेका करिव १५ लाखभन्दा बढी बेरोजगार भएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले बताउनुभयो ।
प्रतिक्रिया