Main News

विवादकाबीच संवैधानिक निकायहरुमा नियुक्ति र सपथको तयारी

हिमालय टिभी
२०७७ माघ २१ गते ७:३४
विवादकाबीच संवैधानिक निकायहरुमा नियुक्ति र सपथको तयारी

२१ माघ २०७७ काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । विवादास्पद रुपमा सिफारिस गरिएका सबैलाई आजै सपथ खुवाउने तयारी छ ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको हो ।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आज बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै हिजो मात्र सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको तर्फबाट रिट निवेदन पेस भएको छ ।

रिट आज सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने शीतलनिवासको तयारी छ । अख्तियारको आयुक्तमा सिफारिस भएका पूर्वएआइजी जयबहादुर चन्दले आज बिहानका लागि शपथको तयारी भएको पुष्टि गर्नु भएको छ ।

आज बिहान शपथका लागि स्ट्यान्डबाई बस्नू भन्ने खबर आएको उहाँले बताउनुभयो । अध्यक्षलाई राष्ट्रपतिले र अन्यलाई अध्यक्षले शपथ खुवाउने संवैधानिक प्रावधान छ । मुख्यसचिव शंकरदास बैरागीले नियुक्तिका लागि हिजो राष्ट्रपति कार्यालयलाई पत्राचार गर्नु भएको छ । तर, बैरागीको पत्राचार ऐनसँग मेल खाँदैन ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्र, महिला आयोगको अध्यक्षमा कमला पराजुली, दलित आयोगको अध्यक्षमा देवराज विकलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *