राजनीति

प्रचण्ड-नेपाल समूहकाे दाबेदारी पछि उठेका प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते २०:४७
प्रचण्ड-नेपाल समूहकाे दाबेदारी पछि उठेका प्रश्न (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा अन्ततः औपचारिक रूपमा आधिकारिकता दाबीसहितको कानूनी प्रक्रिया शुरू भएको छ। प्रचण्ड नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ बमोजिम दाबी पेश गरेपछि नेकपाको कानूनी विभाजन पनि शुरू भएको हो । तर ऐनमा विवाद शुरु भएको ३० दिनभित्र दाबी गर्नुपर्ने प्रावधान रहेकाले त्यो कुन दिन हो भन्ने अन्योल एकातिर छ भने अर्कातिर विवाद निरुपण गर्दा लाग्ने समयले तोकिएको समयमै चुनाव होला त भन्ने प्रश्न पनि उठेको छ ।

विवाद शुरू दिन कुन ?
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित आधिकारिकताको दाबी पेश गर्नुपर्ने उल्लेख छ ।आयोगमा आधिकारिकताको दाबी मंगलबार परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा राजनीतिक विभाजन शुरू भइसकेको छ ।

पुस ६ मा प्रचण्ड नेपाल–समूह आयोग गएको मितिलाई मान्ने हो भने पनि ४५ दिन कटिसकेको छ । यस्तोमा निर्वाचन आयोगले विवाद शुरु भएको दिन कहिलेलाई मान्ला भन्ने प्रश्न छ । स्वयं आयोग पनि यसबारे प्रष्ट छैन । तर यसमा कुनै कट अफ टाइम नतोक्ने र कानून विज्ञसँग छलफल गर्ने आयोगको तयारी छ

अबको प्रक्रिया के ?
विवादरत दलको एउटा पक्षले ऐनको दफा ४४ अन्तर्गत दाबी पेश गरेपछि आयोगले अर्को पक्षलाई १५ दिनको समय दिई सूचना दिने प्रावधान छ ।१५ दिनभित्र त्यो पक्षले आफ्नो दाबी र प्रमाणसहित आयोगमा लिखित जवाफ पेश गर्नुपर्नेछ । १५ दिनभित्र पेश नभएको खण्डमा थप १० दिनको समय दिनसक्ने छ ।

त्यसपछि आयोगले पुनः दुवै पक्षलाई बोलाएर मिलेर जान आग्रह गर्न सक्नेछ । दफा ४४ को उपदफा ६ मा सहमति कायम हुन नसकेमा आयोगले केन्द्रीय समितिमा भएको संख्याका आधारमा बहुमत पक्षलाई विवाद हुनुअघिको दलको मान्यता दिएर अल्पमत पक्षलाई नयाँ राजनीतिक दलका रूपमा मान्यता दिएर दर्ता गर्न सक्ने प्रावधान उल्लेख छ ।

विवाद कहिले टुंगिएला ?
नेकपाको आधिकारिकता विवादको टुंगोमा पुग्न आयोगलाई धेरै समय लाग्ने देखिन्छ । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका अनुसार दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा विवाद निरूपण गर्न आयोगलाई कम्तीमा ६० दिन लाग्नेछ ।

यस्तोमा वैशाख १७ र २७ मा तोकिएको निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको छ । प्रचण्ड–नेपाल पक्षले नेकपा विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने पनि बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्