आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

२० माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाउनुभएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले साँझ पाँच बजे बस्नेगरी परिषदको बैठक बोलाउनुभएको थियो । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको थियो ।
विविध विषयमा छलफल गर्न बोलाइएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो ।
सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।
संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिनुभएको छ । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।
प्रतिक्रिया