Main News

बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूहको आपत्ति, प्रदेशसभा सचिवालयमा नाराबाजी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते २१:००
बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूहको आपत्ति, प्रदेशसभा सचिवालयमा नाराबाजी (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ हेटौंडां । बिना जानकारी प्रदेश सभा बैठक स्थगित गरेकोमा नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । यो समूहका सांसदले आज प्रदेश सभा सचिवालयमा नाराबाजी नै गरेका छन् । उनीहरुले प्रदेश सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।

बागमती प्रदेशसभा सचिवालयअघि नाराबाजी गर्ने नेकपाको प्रचण्ड–नेपाल समूहका सांसद हुन् । उनीहरु बिना कारण प्रदेश सभा बैठक स्थगित गरिएकोमा आक्रोशित छन् ।

उनीहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव माघ ९ गते बसेको प्रदेशसभा बैठकमा पेश भएको थियो । त्यसदिन प्रस्तावमा सामान्य छलफल भएपछि प्रदेश सभा बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

पूर्वनिर्धारित समय अनुसार आज दिउँसो २ बजे बस्ने बैठकका लागि सांसदहरु पुग्दा प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरिसकेको थियो । बैठक स्थगित गर्ने बारे कसैसँग छलफल नगरिएकोमा प्रचण्ड–नेपाल समूहको आपत्ति छ ।

अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा त्यसलाई टुंग्याउने जिम्मेवारी सभामुखको हो । तर सभामुखले आफ्नो जिम्मेवारीबाट पन्छिएर बैठक स्थगित गरेको यो समूहको आरोप छ । प्रचण्ड–नेपाल समूहले बिना छलफल र परामर्श बैठक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ प्रदेश सरकारको लाचार छायाँ बनेको आरोप लगाएको छ।

सभामुखले कुनै पनि दल र प्रदेससभा सदस्यको मान्यता नराखेको बताउँदै यो समूहले छलफलबाट भागेका सभामुखले आफूहरुसँग भेट्न समेत नमानेको दावी गरेको छ ।

आफ्नै पार्टीका ४५ जना सांसदले अविश्वास प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री डोरमणि पौडेल अल्पमतमा हुनुहुन्छ । र प्रदेश सभामा अविस्वासको प्रस्ताव पारित भएमा उहाँले मुख्यमन्त्री छाड्नु पर्नेछ ।

तर आज संसद सचिवालयले प्रदेश सभा बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरेर मुख्यमन्त्री पौडेलमाथिको संकट त्यतिञ्जेलसम्मका लागि टरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *