बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भइसकेको सरकारको दाबी (भिडियो रिपोर्टसहित)
१९ माघ २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भइसकेको दाबी गरेको छ ।
बर्डफ्लु नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताउनुभयो ।
सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लाखोला, फुटुङमा नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमूना संकलन गरी परीक्षणको दायरा बढाएको बताउनुभयो ।
मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको छ ।
मन्त्रालयले स्थानीय सरकारसँग पनि समन्वय गरी अनुगमन गरिरहेकाले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।
सहसचिव डा. निर्मलले कुखुराको प्रत्यक्ष सम्पर्कमा रहने मासु व्यवसायी र किसानलाई ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया