Main News

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

हिमालय टिभी
२०७७ माघ १९ गते ९:१९
कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

१९ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्डले बोर्ड बैठक बोलाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गरिने बताउनुभयो । उहाँले हिजो नतिजाको प्रक्रिया हेरेको र सबै ठिक रहेकाले थप कुनै समस्या नदेखिए नतिजा आजै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए । बोर्डले गत पुस मध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए । ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णाङ्क र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होम सेन्टर कायम गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *