नेकपा ओली समूहले आज चितवनमा सभा गर्दै
१७ माघ २०७७ चितवन । नेकपाको ओली समूहले पनि आज चितवनमा सभा गर्ने भएको छ । सभालाई नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुरुवात गर्नुका साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको पनि शिलान्यास गर्नुहुनेछ ।
प्रधानमन्त्री ओली चितवन जाने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर–बाइपास सडकखण्डमा धमाधम पिच गरिएको छ। चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारले बसपार्क चोकदेखि मालपोत चोकसम्मको सडक पिचको कामलाई तीव्रता दिएको हो।
पटक–पटक थपिएको म्याद पुस मसान्तमा सकिएपछि डिभिजन कार्यालयले ठेकेदार कम्पनी गौरीपार्वती निर्माण सेवालाई जरिवाना तिराएर काम गराइरहेको छ।
प्रतिक्रिया