Main News

सर्वोच्च अदालतमा दर्ता भएका अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ

हिमालय टिभी
२०७७ माघ १५ गते ७:२७
सर्वोच्च अदालतमा दर्ता भएका अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ

१५ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँच वटा अवहेलना मुद्वाको सुनुवाइ आज हुने भएको हो ।

ती पाँच वटै मुद्दाको पेशी आज बिहान १० बजेका लागि तोकिएको छ । हिजो अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीश विरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराउनु भएको थियो ।

गत पुस २४ गते पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताउनु भएको थियो ।

अधिवक्ताद्धय भट्टराई र बस्नेतको हिजो दर्ता भएको निवेदनमा चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराउनु भएको हो ।

हाल सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा पुनर्स्थापना हुुनुपर्ने मागसहितका रिटउपर भइरहेका सुनुवाइलाई प्रभावित पार्ने गरी १९ दिनपछि चारै पूर्वप्रधानन्यायाधीशमाथि कारबाहीको माग गरिएको छ ।

यसअघि पुस २४ मा चारैजना पूूर्वप्रधानन्यायाधीशले ‘कार्यकाल पूरा नहुँदै गरिएको प्रतिनिधिसभाको विघटनले देशको संवैधानिक पद्धतिको कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र विकास वातावरणमा अनपेक्षित रूपमा प्रतिकूल प्रभाव परेको महशुस’ गरेको बताउनु भएको थियो ।

संयुक्त विज्ञप्ति जारी गर्दै उहाँहरुले न्यायालयमा प्रवेश गरेको यस विषयमा संविधानभित्र रहेर फैसला आउनुपर्ने उल्लेख गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *