Main News

कोरोनाविरुद्धको खोप लगाएकाहरु के भन्छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १५ गते ६:४६
कोरोनाविरुद्धको खोप लगाएकाहरु के भन्छन् ? (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई सरकारले पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु शुरु गरेको छ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीले खोप सुरक्षित भन्दै निश्चिन्त भएर लगाउन आग्रह गरेका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाउनुभयो । उहाँका अनुसार कोरोना संक्रमणको एक वर्षमा खोप आउनु र लगाउनु पाउनु ऐतिहासिक अवसर हो ।

कोरोना संक्रमण रोकथामका लागि अर्को चरणको लडाईँ शुरु भएको छ भन्नुहुन्छ उहाँसँगै खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला ।

एक वर्षअघि यसै दिन कोरोनाको परीक्षण नेपालमै शुरु भएको थियो । त्यसको एक वर्षमै खोप आएको छ । धेरैमा खोपबारे डर त्रास रहे पनि अहिले खोप लगाउन पाउनु गर्वको विषय भएको बताउनुहुन्छ जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुणा झा ।

बुधबार नै कोरोनाको खोप लगाएका कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर खड्का कोरोना विरुद्धको लडाईँमा खटिएका स्वास्थ्यकर्मीलाई नै पहिलो प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिनुहुन्छ ।

जोखिम मोलेर कोरोना विरुद्ध खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मी खोप लगाएसँगै ढुक्क भएका छन् र थप लड्न उनीहरुलाई ऊर्जा प्राप्त भएको छ ।

कोरोना विरुद्धको खोप परीक्षणकै क्रममा रहेको र अन्य देशमा ती खोपको नकरात्मक असर परिरहेको भन्ने समाचार आएका कारण नेपालमा धेरैजसो खोप लगाउन डराएका थिए । तर पनि कोरोना संक्रणमको रोकथाममा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले कुनै डर र त्रास बिना नै ढुक्क भएर खोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *