चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
१४ माघ २०७७ काठमाडौं । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार जना पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको हो ।
मुद्दाको पेशी यही माघ १५ गतेका लागि तोकिएको छ ।अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै रिट निवेदकले न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजाय माग गरेका छन् ।
अदालतको अवहेलना गरेको ठहरेमा कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । तर आरोप पुष्टि हुनुअघि नै क्षमा मागे अदालतले अवहेलनाको कारबाही स्थगन गर्न सक्छ ।
पूर्वप्रधान्यायाधीश रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले पुस २४ गते संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नुभएको थियो । अदालतले संसद विघटनलाई सदर गरे संवैधानिक दिशाविहीनता हुने चार जना पूर्वप्रधानन्यायाधीशहरुको तर्क छ ।
यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया