Main News

तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलव्ध हुन्छः प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ माघ १४ गते १२:४८
तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलव्ध हुन्छः प्रधानमन्त्री ओली

१४ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ ।

आज कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप आजदेखि देशभर लगाउन शुरु गरिएको छ ।

पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने पनि बताउनुभयो । उहाँले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुनु नहुने र सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उहाँको भनाइ छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो । भारत सरकारसँग थप खोप उचित मूल्यमा किन्ने कुरा पनि भइरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भए पनि कोभिड–१९ सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *