Main News

नेपालमा पनि कोरोनाविरुद्धको खोप अभियान शुरु

हिमालय टिभी
२०७७ माघ १४ गते १२:४०
नेपालमा पनि कोरोनाविरुद्धको खोप अभियान शुरु

१४ माघ, २०७७ काठमाडौं । कोभिड–१९ विरुद्ध आजदेखि नेपालमा पनि खोप अभियान शुरु भएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुरुवात गर्नु भएको हो ।

आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ ।

देशभरका ६६ जिल्लाका ३ सय खोप केन्द्रबाट खोप अभियान शुरु भएको स्वास्थ्य मन्त्री हृदयेस त्रिपाठीले जानकारी दिनुभयो । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाउनु भएको छ ।

टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदै छन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

फोहोरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलो चरणमा प्राथमिकता राखिएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले आज शून्य दशमलव ५ मिलीलिटर खोप प्रदान गरिने जानकारी दिनुभयो । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने निर्देशक डा शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *