Main News

यस्ता व्यक्तिले लगाउन हुँदैन कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १३ गते १८:००
यस्ता व्यक्तिले लगाउन हुँदैन कोरोनाविरुद्धको खोप  (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ काठमाडौं । सरकारले भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्दैछ । भारतबाट आएको १० लाख डोज खोप प्रदेश राजधानी तथा त्यहाँबाट विभिन्न जिल्लामा लगिँदैछ । तर यो खोप सबैले लगाउन भने मिल्दैन । साथै खोप लगाउँदा कतिपयमा साइड इफेक्ट पनि देखिन सक्छ । यो खोप कसले लगाउन हुन्छ र कसले लगाउन हुँदैन तथा लगाउँदा कस्ता समस्या देखिन सक्छन ?

कोरोना विरुद्धको कोभिशिल्ड खोप शुरुवातमा १८ वर्ष पूरा भएर सरकारले तोकेको मापदण्डमा परेका नागरिकलाई लगाइँदैछ । स्वास्थ मन्त्रालयका अनुसार देशभरका दुई लाखभन्दा बढी स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्नेसहित साढे चार लाख जनालाई पहिलो चरणमा खोप दिइनेछ ।

यो खोपलाई विश्व स्वास्थ्य संगठन तथा नेपालको औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । कोभिशिल्ड खोप गर्भवती र सुत्केरी, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अन्य कतिपयलाइ नलगाउने सरकारले जनाएको छ ।

पहिलो चरणमा फोहोर व्यवस्थापनमा खटिएकाहरु, एम्बुलेन्स, शव वाहनका चालक र सहयोगी, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी तथा महिला स्वयंसेविकालाई खोप लगाइनेछ ।

पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिएमा ती व्यक्तिलाई दोस्रो डोज दिइने छैन । उच्च ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहका वा रोग प्रतिरक्षा शक्ति कमजोर भएका वा औषधि लिइरहेकालाई पनि यो खोप लगाइनेछैन ।

गर्भाधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ। यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन्छ ।

१ सयमध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिरा आउने असर पनि देखिन सक्छ । यो अवस्थाका लागि खोप केन्द्रले पर्याप्त तयारी गर्नुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

कोभिड नाइन्टिनविरुद्ध अन्य खोप लगाइरहेका व्यक्ति, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, कुनै औषधि, खोप, खानेकुरा आदिबाट पहिल्यै गम्भीर एलर्जी भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन ।

गम्भीर प्रकृतिका बिरामी क्यान्सर र मुटु रोगीले पनि यो खोप लगाउन नहुने विज्ञको भनाइ छ । खोप लगाइसकेपछि २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ, ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने असर पनि देखिने गर्छ ।

कोरोनाविरुद्धको खोप प्रयोग गर्दा सिकिस्त वा मृत्यु हुने सम्भावना भने निकै कम छ । । नेपालको खोप ऐन २०७२ अनुसार कुनै पनि व्यक्ति सिकिस्त वा मृत्यु भए क्षतिपूर्ति पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *