प्रधानमन्त्री ओली र पूर्वसभामुखविरुद्ध अवहेलना मुद्दा दर्ता (भिडियो रिपोर्टसहित)
१३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुखविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
कानुन व्यवसायीको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन गरेकोमा आज दर्ता भएको हो । निवेदनमा प्रधानमन्त्री ओलीले माघ ९ गते कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानूनमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानून व्यवसायीमाथि व्यंग्य गर्नुभएको थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुनै ठाउँ नभए पनि वकिलहरुले कुरा फिटेका फिटै छन, बाजे वकिलललाई तमासा देखाउन लगेछन् भन्ने टिप्पणी गर्नुभएको थियो ।
कानून व्यवसायीलाई संविधान र कानूनले दिएको विशेषाधिकारको सबैले सम्मान गर्नुपर्ने निवेदनमा भनिएको छ । निवेदनमा प्रधानमन्त्री ओलीलाई अदालतमा झिकाएर अवहेलनाको कारबाही चलाउन माग गरिएको छ ।
अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ ।आरोप पुष्टि हुनुअघि नै क्षमा मागे अदालतले अवहेलनाको कारबाही स्थगन गर्न सक्छ ।
यस्तै, पूर्व सभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्न सक्ने अवस्था आउने बताउनुभएको थियो । अधिवक्ता राजाराम घिमिरेले यसबाट अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गर्नुभएको हो ।
प्रतिक्रिया