Main News

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

हिमालय टिभी
२०७७ माघ १२ गते १४:३५
नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

१२ माघ २०७७ काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि इजरायलसँग सहयोगका लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।” लामो समयदेखि दुई देशबीच कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको जनाउँदै मन्त्री आलेले आगामी दिनमा वन विकासका क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउँदै आगामी दिनमा पनि त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा इजरायली राजदूत गोल्डबर्गरले वनसहित अन्य क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल आतुर रहेको बताउनुभयो । राजदूत गोल्डबर्गरले भन्नुभयो, “हामीले नेपालका कृषि, पर्यटनलगायत थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौँ, अब वन विकासका क्षेत्रमा पनि सहयोग अगाडि बढाउँछौँ । सो अवसरमा वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *