चिकित्सा शिक्षामा शुल्क बढाउन गरेको सिफारिसप्रति डा. केसीको आपत्ति

११ माघ २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन गरेको सिफारिस प्रति आपत्ति जनाउनुभएको छ ।
डाक्टर केसीले आज विज्ञप्ति निकालेर कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकको आर्थिक स्थिति दयनीय भएको समयमा शुल्क बढाउनु अकल्पनीय भएको बताउनुभएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैरनाफामूलक हुनुपर्ने र शुल्क कम गर्दै लग्नु पर्ने भनिएको छ ।
त्यस्तै तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्ष सरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुलाई डाक्टर केसीको आग्रह छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शैक्षिकसत्र २०७७–०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख रुपैयाँ शुल्क बढाएर ४८ लाख पुर्याउन प्रस्ताव गरेको थियो ।
तर शुल्क बढाउने प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्दै पुरानै शुल्क कायम गर्न निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया