Main News

विज्ञ भन्छन् – नेताहरुले पहिला कोरोनाको खोप लिएर डर हटाइदिनुपर्छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते २०:५३
विज्ञ भन्छन् – नेताहरुले पहिला कोरोनाको खोप लिएर डर हटाइदिनुपर्छ (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । नेपालमा पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । भारतले अनुदानमा सहयोग गरेको खोप लगाउन सरकारले प्राथमिकता समेत निर्धारण गरिसकेको छ । तर सुरुवाती चरणमा खोपको प्राथमिकतामा परेकाहरु भने डराइरहेका छन्। राजनीतिक नेतृत्वलाई पहिलो चरणमा खोप लगाउन सके यस्तो डर हटाउन सहज हुने विज्ञको सुझाव छ ।

भारतबाट १० लाख डोज खोप आएसँगै सरकारले कोरोना रोकथाममा खटिनेलाई प्राथमिकतामा राखेको छ। जसअनुसार सरसफाइकर्मी, चिकित्सक, एम्बुलेन्स चालकलगायत पहिलो चरणमा खोप पाउनेको सूचीमा छन् ।

प्राथमिकतामा परेका अधिकांशले खोप लगाउने फारम भरिसकेका छन् । तर उनीहरुमध्ये केहीलाई खोपले नकारात्मक असर गर्ने त होइन भन्ने चिन्ता पनि छ ।

एम्बुलेन्स चालक दिपेन्द्र नेपालीले पनि खोप लगाउन सरकारले दिएको फारम भर्नु भएको छ । तर, लगाउने र नलगाउने विषयमा भने उहाँमा अझै अन्योल छ ।

सरकारले कोरोनाविरुद्धको खोप १४ वर्षभन्दा माथिका ७२ प्रतिशत नागरिकलाई लगाउने घोषणा गरिसकेको छ । सरकारले पहिलो चरणमा खोप दिन प्राथमिकतामा राखेकाहरु भने अझै ढुक्क हुन सकेका छैनन् । नेपालमा आएको खोप विश्वसनीय रहे पनि त्यसबारे आम नागरिकलाई सचेत बनाउन नसकिएको विज्ञ बताउँछन् ।

विशिष्ट व्यक्ति, नेता, मन्त्रीलगायतले सुरुवातमा खोप लगाएमा नागरिकको डर हटाएर आस्वस्त पार्न सहज हुने डाक्टर पुनको सुझाव छ ।

कोरोना संक्रमण शुरु भएसँगै पीसीआर परीक्षणका लागि सत्ता र शक्तिमा रहेकाहरु धेरै अघि सरेका थिए । कुनै लक्षण नभए पनि सांसद, नेता, मन्त्रीले पटकपटक कोरोना परीक्षण गराए । तर अहिले खोप लगाउन भने उनीहरुबीच होडबाजी देखिएको छैन । अब आम नागरिकको डर हटाउन पनि राजनीतिक नेतृत्व नै अघि सर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *