Main News

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेकपा प्रचण्ड–नेपाल समूह

हिमालय टिभी
२०७७ माघ ९ गते ७:३१
आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेकपा प्रचण्ड–नेपाल समूह

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनलगत्तै विगत एक महिना अघिदेखि नै देशव्यापी सडक आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा ¥यालीसहित प्रदर्शनको तयारी गरेको हो ।

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिएको प्रचण्ड–नेपाल समूहले आज राजधानीमा एकीकृत प्रदर्शन गर्ने तयारी गरेको हो ।

केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले यो जनप्रदर्शनले संविधान जोगाउने र संसद् पुनर्स्थापनाको आधार खडा गर्ने दाबी गर्नुभएको छ । दोस्रो चरणको संघर्षको कार्यक्रमलाई संशोधन गर्दै माघ ३ को स्थायी कमिटी बैठकले आज सशक्त र एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

यो समूहका नेताहरुले आजको जनप्रदर्शनमा राजधानी भरिभराऊ हुने बताउँदै आएका छन् । आजको आमसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने भट्टराईले बताउनुभएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद् विघटनको मुद्दा र निर्वाचन आयोगमा पार्टीको वैधानिकता विवाद चलिरहेकै बेला यो समूहले जनप्रदर्शनबाट आफ्नो तागत देखाउने रणनीति बनाएको छ ।

उपत्यकाबाहेक काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, गण्डकी प्रदेश र प्रदेश २ का जिल्लाबाट समेत प्रदर्शनका लागि कार्यकर्ता राजधानी ल्याइएको छ ।

प्रदर्शन राजधानीका विभिन्न ९ स्थानमा शुरु हुनेछ । राजधानीको प्रमुख सडक ठप्प बनाउने गरी प्रदर्शन गर्ने र रत्नपार्क पुगेर हुने आमसभालाई अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *