प्रदेश १ को हिउँदे अधिवेशन शुरु भएलगत्तै अनिश्चितकालका लागि स्थगित
७ माघ २०७७ काठमाडौं । बागमती र प्रदेश १ संसदको हिउँदे अधिवेशन आज शुरु भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएर अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रचण्ड–नेपाल र ओली पक्ष दुबै एक अर्काविरुद्ध आक्रामक भएपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
सभामुख भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशनसम्बन्धि पत्र पढेर सुनाएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाउनुभएको थियो । प्रदेश एकमा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेको छ ।
ओली पक्षले प्रस्ताव अघि बढ्न नदिने बताएपछि तनावको वातावरण बनेको थियो । त्यसअघि सभामुख भण्डारीले आजका लागि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको थिएन ।
कार्यव्यवस्थाको बैठक नबसे पछि प्रदेशसभाको कार्यसूची पनि तय हुन सकेन । प्रदेशसभामा मुठभेडको स्थिति आउन सक्ने भन्दै संसद सचिवालयले मर्यादा पालकको संख्या बढाएको छ । सचिवालयले बैठक कक्षको कुर्सी उचाल्न नमिल्ने गरी वेल्डिङ समेत गरिसकेको छ ।
अर्को बैठक मुख्यमन्त्री राईको विवाहपछि बोलाउने सभामुखको योजना रहेको बताइएको छ । मुख्यमन्त्री राईले यही ११ गते विवाह गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया