देशभरका करिब एक हजार विद्यालय बन्द हुने अवस्थामा
७ माघ २०७७ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने अवस्थामा पुगेका छन् ।
निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आँकलन छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउनुहुन्छ ।
१० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उहाँको भनाइ छ ।
हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गर्ने पुरीले बताउनुभयो ।
बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको हो ।
निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाडौँ उपत्यकामा धेरै हुनेछ । धेरैजसो तल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालय पूर्ववत् रूपमा खुल्न समस्या देखिए पनि कक्षा १० सम्म सञ्चालन भएका विद्यालय भने बन्द नभएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया