Main News

प्रदेश १ र वाग्मती प्रदेशको हिउँदे अधिवेशन शुरु हुँदै

हिमालय टिभी
२०७७ माघ ७ गते ७:१९
प्रदेश १ र वाग्मती प्रदेशको हिउँदे अधिवेशन शुरु हुँदै

७ माघ २०७७ काठमाडौं । प्रदेश १ र बाग्मती प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु हुने भएको छ । प्रदेश १ को आज शुरु हुने हिउँदे अधिवेशन तनावपूर्ण हुने संकेत देखिएको छ । अधिवेशन शुरु हुने अघिल्लो दिन हिजो नेकपाका दुबै समूह रणनीति बनाउन व्यस्त रहे ।

बैठक दिउँसो २ बजे बोलाइएको छ । त्यसअघि, सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । हिजो दिनभरि दलका प्रतिनिधिहरुसँग परामर्श गरेका सभामुख भण्डारीले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

मूख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वास प्रस्ताव पेश भएकाले यो अधिवेशनलाई चासोका साथ हेरिएको छ । मुख्यमन्त्री राई समर्थकको अनौपचारिक बैठकले कारबाही गरिएका सांसदलाई प्रदेश सभामा सहभागी हुन नदिने योजना बनाएको बताइएको छ ।

पार्टीबाट निलम्वन भइसकेको तर्क गर्दै प्रचण्ड–नेपाल समूहका सांसदलाई प्रदेशसभामा सहभागी हुन नदिने राई समर्थकको चेतावनी छ । मुख्यमन्त्री राईले पनि आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ । संसदीय अभ्यासविरुद्ध अविश्वास प्रस्ताव आएकाले सभामुखले फिर्ता लिन आग्रह गर्नुपर्ने राइको भनाइ छ ।

यस्तै अविश्वास प्रस्ताव दर्ता भएको बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन पनि आजदेखि शुरु हुँदैछ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ।

यसको असर प्रदेशहरूमा पनि देखिएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले बाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीहरूविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

प्रदेश १ मा अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यविधि बनाउने गृहकार्य नभए पनि बागमतीमा कार्यविधि बनाउने गृहकार्य गरिएको छ । प्रदेश १ मा जस्तो बाग्मतीमा एक(अर्काबीच कारवाही गरागर नभएकाले प्रदेशसभाको बैठक सहज रुपमा अघि बढ्ने अवस्था रहेको नेताहरुले बताएका छन् ।

यी दुबै प्रदेशमा नेपाली कांग्रेस निर्णायक छ। तर कांग्रेसले अहिलेसम्म कुन पक्षलाई सघाउने निर्णय गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *