राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहले सोध्यो ओलीसँग स्पष्टिकरण, थप कारबाहीको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ५ गते १९:११
नेकपा प्रचण्ड–नेपाल समूहले सोध्यो ओलीसँग स्पष्टिकरण, थप कारबाहीको तयारी (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप कारवाही गर्न प्रक्रिया अघि बढाएको छ । यसै क्रममा आज प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोधिएको छ ।

प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर स्पष्टिकरण पत्र बुझाउनु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्रमा पार्टी अध्यक्षको गरिमामय पदमा रहँदा संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम चालिएको उल्लेख छ ।

यस्तै संविधान र लोकतन्त्रमाथि घात गरी पार्टीको विधान विपरित समेत काम गरेको भन्दै ‘तपाईंलाई पार्टीको सदस्यबाट किन ननिकाल्ने भनेर स्पष्टिकरण सोधिएको छ । पत्र पाएको मितिले तीन दिनभित्र स्पष्टिकरण नदिए थप कारवाही गरिने पनि उल्लेख गरिएको छ ।

बालुवाटार पुगेका नेताहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर पत्र दिएका थिए ।

यसअघि प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निस्कासन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । यो समूहले यसअघि नै ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्