Main News

नयाँ प्रकारको कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि, तीन जनामा संक्रमण फेला

हिमालय टिभी
२०७७ माघ ५ गते १४:०४
नयाँ प्रकारको कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि, तीन जनामा संक्रमण फेला

५ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेर ६ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको नमूना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएकोमा आज रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको छ । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

स्वास्थ्यमन्त्रालयले विज्ञप्ति निकालेर खोप नआउँदासम्म पहिले झै सावधानी अपनाउन अपील गरेको छ । नयाँ देखिएको भाइरस बी–वान वान सेभेन भेरिएन्ट आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् ।

यसबाट संक्रमितमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूको निष्कर्ष छ । र, यसले पार्ने असरबारे पनि अध्ययन भैरहेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *