राजनीति

अदालतलाई नधम्क्याउन प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १८:३२
अदालतलाई नधम्क्याउन प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । विरोधसभामा बोल्ने कांग्रेस नेताहरुले अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले विरोध स्थानीय तहसम्म विस्तार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको छ ।

चितवनको भरतपुरमा आयोजित विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावसँग नआत्तिएको भन्दै आफ्नो पार्टी पहिला संविधान र लोकतन्त्र बचाउन लाग्ने बताउनुभयो । नेता पौडेलले चुनाव आज नभए भोलि हुने भन्दै यस्ता चुनाव पञ्चायतको पालामा पनि धेरै भएको बताउनुभयो ।

विराटनगरमा आयोजित कार्यक्रममा नेता डा. शेखर कोइरालाले संसद विघटन सदर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहेको आरोप लगाउनुभयो । नेता कोइरालले आफूले चालेका अलोकतान्त्रिक कदम सदर गर्न प्रधानमन्त्री ओली अदालतलाई धम्काउने काममा सक्रिय रहेको दाबी गर्नुभयो ।

यस्तै भक्तपुरको मध्यपुर थिमिमा भएको विरोध सभामा पनि प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालततर्फ फर्किएर दबावको भाषा नबोल्न चेतावनी दिनुभयो ।

प्रवक्ता शर्माले सर्वोच्च अदालतका न्यायाधीश नेकपाका पोलिटब्युरो सदस्य नभएको र शीतल निवासमा बसेका राष्ट्रपतिजस्तो प्रधानमन्त्रीले भनेका सबै कुरा प्रमाणित गर्दै नजाने टिप्पणी गर्नुभयो ।

काठमाडौंमा भएको अर्को कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको बताउनुभयो । नेता सिंहले संविधानको बर्खिलाप आएको प्रतिनिधिसभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेको भन्दै राष्ट्रपतिको पनि आलोचना गर्नुभयो ।

भैरहवामा आयोजित कार्यक्रममा नेता बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश नमानेको बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधानविपरीत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउनुभयो ।

संसद् विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । सोहीअनुसार उसले विरोधका कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्