Main News

सरकारले संविधानअनुसार नै काम गरिरहेको छः नेता नेम्वाङ (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १६:४२
सरकारले संविधानअनुसार नै काम गरिरहेको छः नेता नेम्वाङ (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुभासचन्द्र नेम्वाङले वर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश१ को प्रदेश सम्पर्क कमिटीले काठमाडौँमा गरेको कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको बताउनुभएको हो । संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उहाँले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गर्नुभयो ।

संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी नगर्दासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उहाँको भनाइ छ ।
नेम्वाङले सरकारले घोषणा गरेको वैशाख १७ र वैशाख २७ गते नै निर्वाचन हुने बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै विज्ञहरुले टिप्पणी गरिरहेको उहाँको भनाइ छ ।

उहाँले देश निर्वाचनमा गइसकेकाले प्रतिपक्षी दलले निर्वाचन केन्द्रित भएर कार्यक्रम गरिरहेकाले आफुहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताउनुभयो । देशको संविधान, कानून तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफुहरुले पाउनुको विकल्प नरहेको उहाँको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताउनुभयो । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जाने कुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताउनुभयो ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बाहिर बोलेर दबाब दिनु नहुने उहाँको भनाइ छ । स्थायी कमिटी सदस्य नेम्वाङले सरकारले थुप्रै राम्रा काम गरेको बताउनुभयो । एसिड आक्रमणकारीलाई दण्डित गर्ने कानून, वलात्कारको घटनामा मिलापत्र गराउन नपाइने कानून निर्माण गर्नु, देशलाई फुसको छानोमुक्त बनाउने तथा सशस्त्र द्वन्ङ्कको बेलामा घाइते भएका लडाकुलाई निःशुल्क उपचार गराउने निर्णय गर्नु सरकारको निकै राम्रो काम भएको उहाँको भनाइ छ । सरकारले छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान दिने लडाकुहरुलाई राज्यले सम्मान गर्ने घोषणा गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *