राजनीति

भारतको इशारामा ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २९ गते १७:१४
भारतको इशारामा ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डको आरोप (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टीका लगाएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताउनुभएको हो । पटकपटक पार्टी फुटाउने प्रयास असफल भएपछि ओलीले संसद विघटन गरेको आरोप प्रचण्डले लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिँदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिनुभयो । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप प्रचण्डले लगाउनुभयो ।

कलंकको टिका
अध्यक्ष प्रचण्डले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर “घर मै आगो” लगाइदिएको दाबी गर्नुभयो । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टीका लगाएको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “घरमै आगो लगाइदिनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने काम गर्नुभएको छ । उहाँले बाजी हार्नुभयो । उहाँले लडाई हार्नुभयो । जब उहाँले लोकतन्त्रमाथि प्रहार गर्नुभयो र संविधानमाथि आक्रमण गर्नुभयो । उहाँले लडाई हार्नुभयो । जतिबेला विदेशीको इशारामा फेरि एकचोटी नेपाल राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो उहाँले लडाईँ हार्नुभयो । त्यसकारण मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलंकको टीका लगाउनुभयो । यो मेटिँदैन । ”

पोलिटिकल जोकर÷ आँधीहुरी आउँछ
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो “नौटंकी प्रहसन भइरहेको देख्नुभएको छ । यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ । कहिलेकाही साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा । कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ । पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ । ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौं भन्ने यो नौटंकी नभए के हो यो ? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाही हो यो ? यो विक्षिप्त र बहुखुलाहट मानसिकताको उपज नभए के हो ? भनेर हामीले प्रश्न किन नगर्ने ? ”

केन्द्रीय समितिको दुई तिहाई बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उहाँले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाउनुभयो । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमतबिना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारिक पार्टी हुने भएकाले आफूहरु नै आधिकारिक भएको दोहोर्‍याउनुभयो । सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफूहरुलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकरपनको पछाडि लागे भने मुलुकमा ठूलो आँधीहुरी आउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहाँ कयामत आउँछ । यहाँ आँधीहुरी बतास आउँछु । केपी ओलीले संविधान मिचेजस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमाथि छुरा प्रहार गर्‍या जस्तै । यदि अरु संवैधानिक निकायहरुले पनि त्यही गर्न थाले भने यो देश यि नेपाली जनता हेरेर बस्न सक्छन् ? आँधीहुरी बतास आउँछ । ”

झुटो र निर्घृणी ओली
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ढाँडछलका कुरा गर्न “दुध भात खाए” जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “बिहान ११ बजे वामदेव जीलाई बोलाउनुभएछ र अबको अध्यक्ष तपाई नै हो कमरेड । प्रधानमन्त्री नि अब तपाई नै हो । मैले अरु देखिन भन्नुभएछ । उही दिन १ बजे माधव कमरेडलाई बोलाएर तपाई नै अभिभावक हो हाम्रो । तपाई उभिदिन प¥यो । अब अध्यक्ष पनि तपाई नै हो । प्रधानमन्त्री पनि तपाई नै हो भन्नुभएछ । ४ बजे म गएको, मैले त एमालेभित्र नेता नपाएर तपाईलाई ल्याएको भन्नुभयो मलाई । कस्तो सकेको हो के ? सकेको देखेर ताजुब मान्छु के उहाँलाई त ढाँडढुट गर्न दुध भात खाए जस्तो के ।”

विगतमा पनि आफुहरुलाई ढाँट्दै आएका ओलीले आफू भागेर अरुलाई भगौडा भन्ने गरको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “हामीलाई भगौडा भन्नुभएछ । लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय भगौडा अनि ३० प्रतिशत पनि नभएको त्यो रैथाने । आधिकारिक त्यस्तो पनि कहीँ हुन्छ त्यो केपी ओलीको दिमागभन्दा बाहिर ? जहिले नि बैठक बस्नु पर्‍यो भनेर जाँदा जहिले पनि भाग्ने अनि उहाँ भगौडा नहुने ? बैठकबाट जहिले पनि भाग्ने । हामीले निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्दा हामी चाँही भगौडा हुने ? ”

उहाँले ओलीमा लाज घिन हराएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “पछिल्लो बैठक केपी ओलीसमेतको सहमतिको केन्द्रीय समितिको बैठक हो । त्यो बैठक छोडेर विधान मिचेर, संविधान मिचेर, निर्ममतापूर्वक, बडो निरंकुश ढंगले तानाशही रुपमा पार्टीलाई लात हानेर भाग्ने चाहिँ भगौडा नहुने । अनि हामी निर्णय अनुसार बैठक बस्दा हामी भगौडा हुने । मान्छेमा अलिकति लाजघिन चाहीँ हुनुपर्छ के । मान्छेमा अलिअलि लाज नैतिकता हुनुपर्छ नि । निर्घृणी हुनुहुन्न क्या । हाम्रो केपी जी त निर्घृणी । झुटो कुरालाई हो के हो के भन्या जस्तो पार्न सक्ने क्षमता चाहिँ केपीमा रच । त्यो त हुँदै आएको थियो । ”

घेराबन्दी कसले गर्‍यो ?
प्रचण्डले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेश गर्न चुनौती दिनुभयो । पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “पार्टीले के को घेराबन्दी गर्‍यो ? उहाँले प्रमाण सहित भन्नु सक्नुहुन्छ ? पार्टीले सरकारबाट उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो ? एउटा मात्रै प्रमाण दिनुहोस् । म केपी ओलीलाई चुनौती दिन चाहन्छु यो मञ्चबाट । एउटा प्रमाण । पार्टीको यो निर्णयले पार्टीका यी नेताहरुले मलाई यो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेश गर्न म चुनौती दिन चाहन्छु केपी ओलीलाई । बरु पार्टीले यसो गरौं भन्दा त्यो नगरिकन उल्टोउल्टो गर्‍या हुनाले बिग्रेको हो भनेर म स्पष्ट राख्न चाहन्छु । ”

कोरोना महामारी शुरु भएका बेला महामारी नियन्त्रण गर्न केन्द्रदेखि तल्लो तहसम्म संयन्त्र बनाउँ भन्दा आफ्नो सुझावलाई व्यंग्य गर्दै हिडेको उल्लेख गर्दै उहाँले सरकार स्वंयम स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा मुछिएको बताउनुभयो ।

पार्टीभित्र विश्वास जित्न नसकेको
अध्यक्ष प्रचण्डले आफ्नै सहकर्मी साथीहरु कै विश्वास जित्न नसकेर प्रधानमन्त्री ओली सबै कोणबाट अल्पमतमा पर्दै गएको बताउनुभयो । ओलीले अरुलाई दोषारोपण गर्नुभन्दा एकपटक आत्मसमीक्षा गर्नुपर्ने तर्क प्रचण्डले गर्नुभयो ।

उहाँले भन्नुभयो “आफु अल्पमतमा परेपछि देश भाडमा जाओस् भन्ने पनि नेता हुन्छ ? देश र सिस्टमप्रति जिम्मेवार हुनु पर्दैन ? पार्टीलाई विश्वासमा लिने जिम्मेवारी ओलीको होइन ? माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँगै काम गरेपनि उनीहरुको विश्वास जित्न किन नसकेको ? एकचोटी ऐनाको अगाडि आफ्नो अनुहार राम्रोसँग हेर्न पर्दैन केपी ओलीले ? ”

लोकतन्त्रको ‘क ख रा’ भनेको बहुमत नै भएको भन्दै प्रचण्डले बहुमतलाई ओलीले पनि मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “त्यही प्रचण्ड जसले संविधान बनाउने बेलामा संविधान बनाउँ म तपाईलाई प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर पहिलोचोटी प्रधानमन्त्री प्रस्ताव गर्‍यो त्यही प्रचण्ड पार्टी एकता र गठबन्धन गरौ तपाईलाई प्रधानमन्त्री मै प्रस्तावित गर्छु भनेर गर्‍यो त्यही प्रचण्डलाई यति साह्रै खेद्नुपर्ने कारण के पर्‍यो ? ”

भारतले भनेर संसद भंग गरेको हो ?
अध्यक्ष प्रचण्डले भारतको इशारामा संसद भंग गरेको हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको छ । भारतीय गुप्तचरसँगको अपारदर्शी भेटघाट जनतामाझ छर्लङग भएको भन्दै उहाँले विगतमा ‘भारत र साथीहरुले मलाई प्रधानन्त्रीबाट हटाउन खोजे’ भन्ने प्रधानमन्त्रीले अहिले भारतले भनेर संसद भंग गर्नुभएको हो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले त नाङ्गै देखिएको छ नि । विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्तर सुनाए । उहाँले त्यो मन्तर सुन्नुभयो । अस्ति भर्खरै तपाईहरुले हेर्नुभयो नि जी न्युजको इन्टरभ्यु । त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पटाक्षप आज भइसक्यो । अब एभरेष्टको नाम फेर्ने रे । त्यही जी न्युजले । यो के नाटक देखिँदैछ तपाई हामीले ? असारको स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौ नि त हामीले । अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्‍या ? सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपी जी ? मेरो प्रश्न तपाई यसलाई के भन्नुहुन्छ ? ”

आई एम द स्टेट
लोकतन्त्र र राष्ट्रहितविपरीत संसद विघटन गरेर प्रधानमन्त्री ओलीले “आईएम द स्टेट” भन्दै संबै संबैधानिक निकायलाई आफु अनुकुल निर्णय गराउन उद्दत रहेको आरोप अध्यक्ष प्रचण्डले लगाउनुभएको छ । पार्टीभित्र र संसदमा आफ्नो समर्थन गुमाएपछि ओलीले अस्वभाविक ढंगले वक्तव्यवाजी गर्न थालेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “सचिवालयमा बहुमत छैन उहाँको । स्थायी र केन्द्रीय समितिमा दुई तिहाई बहुमत उहाँको विरुद्ध छ । सांसदहरुको बहुमत उहाँको विरुद्ध भइसकेपछि त म भए त हेर्नुहोस् देख्ने बित्तिकै राजीनामा दिइहाल्थेँ । त्यो लोकतन्त्रको हितमा हुन्थ्यो । राष्ट्रको हितमा हुन्थ्यो । मैले छोड्नु पर्‍यो भने कुर्सीसुर्सी भाँचेर छोड्छु । हामीलाई लागेको थियो कुर्सी मात्रै भाँचियो भने त अर्को बनाउला भन्ने । संविधान नै भाँचकुच । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँचकुच गर्ने अनि राष्ट्र नै भाँचकुच गर्ने स्थिति आयो । अझै उहाँ हाँसीहाँसी भन्नुहुन्छ । देश र संविधान बर्बाद भइरहेका बेला ,संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परिहेका जितेको विजेता जस्तो गरी खुसी भएर । उहाँको नृत्य ताण्डव नृत्य जस्तो लागेको छ । भाङ खाएर नाचेको जस्तो के ।”

आफ्नो निर्णय राजनीतिक भएको र राजनीतिक निर्णयलाई अदालतले मान्नुपर्छ भन्दै हिँडेका ओलीमा निरंकुश र तानाशाही प्रवृत्ति हावी हुँदै गएको टिप्पणी प्रचण्डले गर्नुभयो । उहाँले भन्नुभयो “मेरो राजनीतिक निर्णय हो अदालतले मान्नुपर्छ । निर्वाचन आयोगले मैले भनेपछि मान्नुपर्छ । उहाँको सबै अभिव्यक्ति सर्वोच्च पनि केही होइन । निर्वाचन आयोग पनि केही होइन । संविधान पनि केही होइन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि केही होइन । पार्टी पनि केही होइन । बहुमत पनि केही होइन । म नै सबैथोक हो । आई एम द स्टेट । तानाशाहहरुले निरंकुशहरुले संसारभर भन्ने गरेको यही नै हो । ”

तानाशाही र निरंकुश हुने भुत सवार भएपछि मान्छेले आफुलाई नहेर्ने र आफ्नो आत्मालोचना नगर्ने तथा आफु ध्वस्त नहुँदासम्म निहुँ खोजिरहने प्रवृत्ति देखिने भन्दै उहाँले ओली पनि पतनको बाटोमा हिँडेको दाबी गर्नुभयो । ओलीले पटकपटक पार्टी फुटाउन खोज्दा झुकेर आफुले जोगाएको स्मरण गर्दे अब भने लड्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “कमिलाको प्वाँख उम्रिएपछि सिद्धिन्छ भन्छन् । उहाँको कमिलाको प्वाँख उम्रेको देखेको छु मैले । उहाँको धेरै महिना जानेवाला छैन । नेपाली जनताले छोड्नेवाला छैनन् । हामी छोड्नेवाला छैनौ । उहाँ गणतन्त्र विरोधी हो भन्दैमा नेपाली जनता गणतन्त्र विरोधी होइन् । पार्टीका सबै नेता कार्यकर्ता गणतन्त्र विरोधी होइनन् । उहाँ गणतन्त्र विरोधी हो भन्ने हामीलाई थाहा छ । नेपाली जनतालाई पनि थाहा छ । सच्चिए होलान् कि सच्चिएलान् कि भनेको । के को हुन्थ्यो कुकुरको पुच्छर ? जति तेल लगाए पनि बाङगाको बाङ्गै भयो । हामीले त कम तेल त लगाइएन । सबै भन्दा बढी तेल त मैले नै लगाएँ होला यो तीन बर्षमा । खुरुखुरु जे भन्छन् मान्दिदा राम्रो हुन्छ कि भन्दै मान्दै । पोहोर सालदेखि ३ पटक पार्टी फुटाउन खोज्दा झुकेर जोगाएको ।”

जबज छोड्ने पहिलो व्यक्ति केपी ओली
प्रचण्डले प्रधानमन्त्री ओली नै जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गर्नुभयो । पार्टी एकताको समयमा राजनीतिक प्रतिवेदन छाप्न ओली तयार नभएको तथा समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति नै उहाँ भएको तर्क प्रचण्डले गर्नुभयो ।

उहाँले भन्नुभयो “जबज मदन भण्डारीको भूमिकालाई पनि स्थापित गर्नुपर्छ भनेर लेख्ने हामीहरु नै हौ । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । तपाईहरु कोही भ्रममा नपर्नुहोला । अहिले भ्रम दिन खोजेका छन् उनीहरुले । पार्टी भनेको विचार र विधि हो । अहिले त जनताको बहुदलीय जनवाद भन्न खोज्नुहुन्छ , जनताको बहुदलीय जनवादलाई हटाएर समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति को ? केपी ओली । उहाँलाई अब यो बोल्ने कुनै वैचारिक, राजनीतिक र नैतिक अधिकार छैन भन्ने छ मेरो दाबी । उहाँ हो छोड्ने । ”

ओलीले पार्टीको विचार र विधिको सही लाइनबाट भड्किएका,े कम्युनिष्ट र समाजवाद मन नपर्ने र उदार समाजवाद र पूँजीवाद मन पर्ने बताउनुभयो । एमालेजति एक हुनुपर्ने भन्ने अभियान चलाएकाले कतिपयलाई भ्रम सिर्जना भएको भन्दै उहाँले ओलीभित्र कम्युनिष्टको विचार र सिद्धान्त नभएको दाबी गर्नुभयो ।

उहाँले ओली शुरुदेखि नै नेपाल खेमालाई सिध्याउने र पछि आफुलाई सिध्याउने रणनीतिमा लागेको दाबी समेत गर्नुभयो । माधव कुमार नेपाल ओलीको गलत निर्णयको विरुद्ध सतिसाल भएर उभिएकाले आफुमा नेता नेपालप्रति सम्मान बढेको बताउनुभयो ।

उहाँले ओलीको तानाशाही निर्णयविरुद्धको संघर्ष पार्टीभित्रको अन्तरसंघर्ष पनि भएकाले विचार, विधि र समाजवादको आदर्शतर्फ अगाडि बढ्ने गरी पार्टीलाई एकताबद्ध गर्ने बाटोमा एकजुट हुन कार्यकर्तालाई आव्हान गर्नुभयो । उहाँले आफैभित्रको अवसरवादका विरुद्ध संघर्ष गर्न तयार रहे मात्रै ओलीको अवसरवादी निर्णयविरुद्ध लड्न सकिने भएकाले त्यसका लागि तयार रहन पनि उहाँले सबैलाई निर्देशन दिनुभयो ।

लाखौ जनता सडकमा नउत्रिइकन प्रतिगमन नसच्चिने भन्दै उहाँले सडक संघर्षका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । हरेक उपलब्धि र आन्दोलनमा काठमाडौंको भूमिका प्रमुख रहदै आएको स्मरण गर्दै उहाँले यसपटक पनि निर्णायक ढंगले आन्दोलनमा लाग्न सबैलाई आव्हान गर्नुभयो ।

कमेडी शो
आफ्नो सम्बोधनभरी प्रधानमन्त्रीको आलोचनामा खर्चेका प्रचण्डले कमेडी शो गर्न नभई संविधान र लोकतन्त्र धरापमा परेकाले त्यसको रक्षाका लागि उपस्थित भएको भन्दै ओलीलाई व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छ । हामी उखानटुक्का भनेर कमेडी शो गर्न नि उपस्थित भएका छैनौं । हामी मानिसहरुलाई दिग्भ्रमति पार्ने , उद्धेलित पार्न पनि जुटेका होइनौं । हाम्रै पार्टीको, हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हाम्रै पार्टीले हिजो अध्यक्षमा निर्वाचित गरेको व्यक्तिबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ र त्यो प्रहारको सामना गर्न हामी यहाँ उपस्थित भएका छौ । हामी ठूलो बलिदानीबाट प्राप्त उपलब्धि एम्बुसमा परेकाले र त्यसबाट बचाउनका लागि छलफलमा जुटेका हौ ।

उहाँले पार्टी एकताको तयारी बिना नै पार्टी एकता भएको भन्ने टिप्पणी सही नभएको स्पष्ट पार्नुभयो । ‘पर्याप्त तयारी नभइकन गरेको एकताका कारण यस्तो समस्या आएको हो कि ?’ भन्ने विश्लेषण सही नभएको भन्दै उहाँले यथेष्ठ छलफल भएको र विचार र निर्देशक सिद्धान्तबारे स्पष्ट रुपमा किटान गरिएको प्रष्ट पार्नुभयो । विचारमा ध्यान नदिइकन हतारमा पार्टी एकता नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्