कमल पोखरी निर्माण कार्य तत्काल रोक्न मेयरलाई गगन थापाको पत्र

२९ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्काल रोक्न भन्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्नुभएको छ ।
कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेका बेला नेता थापाले महानगर प्रमुखलाई पत्र लेख्नुभएको हो ।
सोही क्षेत्रका निवर्तमान सांसदसमेत रहेका थापाले वास्तविक पोखरीलाई साँघुरो बनाउन लागिएकोमा असन्तुष्टि जनाउँदै निर्माण तत्काल रोक्न आग्रह गर्नुभएको छ ।
२०७६ सालदेखि निर्माण शुरु भएको कमलपोखरीको चारैतिर कंक्रिट संरचना बनाइएको छ । सम्पदा संरक्षण अभियन्ताले पनि यसको विरोध गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ भन्दै २०७६ असारबाट निर्माण अघि बढाएको थियो । त्यसका लागि ६ करोड ३६ लाख ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।
पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ ।
प्रतिक्रिया