Main News

आधिकारिकताको टुंगो लगाइदिन प्रचण्ड–नेपाल समूहको निर्वाचन आयोगमा आग्रह

हिमालय टिभी
२०७७ पुष २७ गते १८:५५
आधिकारिकताको टुंगो लगाइदिन प्रचण्ड–नेपाल समूहको निर्वाचन आयोगमा आग्रह

२७ पुस, काठमाडैं । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी संविधान, कानुन, ऐन र विधिका आधारमा पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितको टोली निर्वाचन आयोग पुगेर संविधान, राजनीतिक दलसम्बन्धी ऐन र विभाजन अघिको पार्टीको विधानमा जे लेखिएको छ, त्यसैआधारमा निर्णय गर्न ध्यानाकर्षण गरेको नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो । प्रचण्ड नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्ष भनी सम्बोधन गरेर पत्र पठाएको र ओली समूहले बुझाएको कागजपत्रलाई आधार बनाएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी विधान बमोजिम दुई तिहाइ बहुमत केन्द्रीय सदस्यको बैठकले कारबाही गरिसकेको र त्यो जानकारी आयोगलाई दिइसकेपछि ओलीलाई कसरी अध्यक्ष भनेको भनेर यो समूहले आयोगलाई प्रश्न गरेको छ । अध्यक्ष माधवकुमार नेपालले ओली समूहले बुझाएको कागज पत्र सहजै किन लिएको भन्दै अध्ययन नै नगरी दर्ता गरेकोमा आपत्ति जनाउनुभएको थियो । पार्टीको विधानले १० प्रतिशतभन्दा बढी मनोनयन गर्न नपाइने व्यवस्था गरेकोमा ११ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाएको विवरण कसरी बुझेको भनेर नेपालको प्रश्न थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने कानुनअनुसार, प्रक्रिया अगाडि बढाएको जवाफ दिनुभएको छ ।

प्रचण्ड–माधव समूहका नेताहरुले भने बारम्बार किन दलसम्बन्धी ऐनको ४४ को उपदफा १ अनुसार, दलको वैधानिकता दाबी गर्न भन्दै पत्र पठाएको भनेर प्रश्न गरेका छन् । संसद विघटन भएसँगै फुटेको नेकपाको दुवै समूहले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ । प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । साथै बहुमत केन्द्रीय सदस्य रहेकाले नेकपा नाम, सूर्य चुनाव चिन्ह अरुलाई नदिन आयोगलाई भनेको छ ।ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेर ११ सय ९९ सदस्यीय बनाएको विवरण आयोगमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *