पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिइने
२७ पुस २०७७ काठमाडौं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत गरिएको छ । नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् ।
नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचानुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सोकाआधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ । शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ । आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ ।
प्रतिक्रिया