Main News

संसद विघटनविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

हिमालय टिभी
२०७७ पुष २२ गते ७:३३
संसद विघटनविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्चले निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि यसको अन्तरिम आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूले बताएका छन् ।

गत पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

त्यही आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेस गरिसक्नु भएको छ ।

सम्पूर्ण देशकै चासो भएको यो मुद्दा अब कसरी अघि बढ्छ भन्नेमा मुख्यत इजलासले के रुलिङ गर्छ भन्ने नै छ । हाल संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेको छ । जसका कारण अन्तरिम आदेश आउन समय लाग्न सक्ने जानकारहरू बताउँछन् ।

प्रधानन्यायाधीशले भिन्न आदेश नदिए सातामा दुई दिन मात्रै इजलासमा यी रिटमाथि सुनुवाइ हुनेछ । रिट निवेदकहरूले हिजो इजलासका सम्बन्धमा सर्वोच्चमा माग नै पेस गरेका छन् ।

उनीहरूले विघटनको संवैधानिक अस्तित्वमाथि यसअघि सर्वोच्चले कम्तीमा पनि ११ जनाको इजलासबाट फैसला सुनाएकाले यसपटक पनि बृहत् पूर्ण इजलासबाट फर्सयोट हुनुपर्ने माग राखेका छन् ।

सर्वोच्चको आदेशअनुसार पाँच सदस्यीय एमिकस क्युरीमा रहने पाँच वरिष्ठ अधिवक्ता चयन भइसकेका छन् । नेपाल बारबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् भने सर्वोच्च बारले गीता पाठक र पूर्णमान शाक्यलाई पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *