संसद विघटन गरेर प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाएः अधिकारकर्मी पहाडी
१८ पुस २०७७ बुटवल । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नै घरमा आगो लगाएको बताउनुभएको छ ।
बुटवलमा आज मानव अधिकार तथा शान्ति समाजको कार्यक्रममा संस्थापक पहाडीले प्रधानमन्त्रीले आफ्नो पार्टी मात्र नभइ देशलाई नै संकटमा पुर्याएको आरोप लगाउनुभयो ।
पहाडीले अदालतबाट संसद पुनर्स्थापना पनि नहुने र वैसाखमा चुनाव पनि नहुने अवस्था आए मुलुकमा ठुलो संकट आउने दाबी गर्नुभयो ।
संविधान असफल भएपछि वैदेशिक शक्तिले मुलुकमा रजाई गर्ने भन्दै नेता पहाडीले यो सबै रोक्ने काम अब न्यायालयको भएको बताउनुभयो । शेरबहादुर देउवाले प्रतिगमनकारी शक्तिसँग साँठगांठ गरे नेपाली कांग्रेसको भविष्य पनि संकटमा पर्ने पहाडीले चेतावनी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संवैधानिक कू भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको धारणा राख्नुभयो । चुनाव गराउनका लागि संसद विघटन नगरिएकाले मुलुकमा प्रतिगमनको खतरा बढेको उहाँको भनाइ छ ।
प्रतिक्रिया