Main News

गृहमन्त्री थापाले भने–प्रतिनिधिसभा विघटन साहसिक कदम हो (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १८ गते १६:३२
गृहमन्त्री थापाले भने–प्रतिनिधिसभा विघटन साहसिक कदम हो (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नु साहसिक कदम भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसदभित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताउनुभएको हो । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसदभित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको बताउनुभएको हो । स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि संसदको औचित्य सकिएको बताउनुभयो ।

सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदमभन्दा पनि ठूलो राजनीतिक कदम भएको पनि बताउनुभयो । संसद विघटन राजनीतिक कू लाई रोक्न र प्रतिगमनलाई सरकारले साहसिक कदम चालेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । कमरेडहरुको अडानपछि अब यो संसद स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो । यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो । संवैधानिक कदमभन्दा पनि ठूलो राजनीतिक कदम हो । राजनीतिक कू लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । यो ठूलो सासहिक कदम पनि हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो ? यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ । तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो । त्यो प्रतिगमनलाई यसले रोक्यो । भविष्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्ने छ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

सरकारले चालेको कदम अदालतमा प्रवेश गरिसकेकाले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि गृहमन्त्री थापाले बताउनुभयो । सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली महत्वाकांक्षा पूरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरुका कारण अहिलेको स्थितिमा आइपुग्नुपरेको बताउनुभयो ।

पार्टी एकता गर्नु अघिदेखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुका कारण नै फार्टी विभाजन हुन पुगेको बताउनुभयो । अवसरवादका लागि अलिकति पनि लज्जाबोध नगर्ने चरित्रको नग्न उत्कर्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको र कुण्ठैकुण्ठाको भारी बोकेर हल न चल भएको अवस्थामा पुग्नु भएको माधव नेपालका कारणले नै अहिलेको दुर्भाग्यको अवस्थामा आएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *