समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको दाबी
१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने दाबी गर्नुभएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने दाबी गर्नुभयो ।
मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय समृद्धितर्फका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास गर्नुभएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको उल्लेख गर्नुभएको छ ।
आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने अपेक्षा गर्नुभएको छ ।
प्रतिक्रिया