सरकारविरुद्ध श्रष्टाले सडकमा सुनाए यस्ता कविता (भिडियोसहित)
१५ पुस २०७७ काठमाडौं । संसद विघटन् गर्ने सरकारी कदमविरुद्ध सडकमा उत्रिएका श्रष्टाले आज सामूहिक रुपमा कविता वाचन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका कविले कविता मार्फत नै सरकारी कदमको चर्को आलोचना गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद विघटन गरेपछि राजनीतिक दल मात्रै नभइ नागरिक अगुवा र श्रष्टा पनि सडकमा उत्रिएका छन् ।
पुस ११ देखि जारी आन्दोलनको तेश्रो दिन बुधबार माइतीघरमा स्रष्टाले कविता वाचन गरे । यस्तै महिला समूहले सरकारको विरोधमा नौमती बाजा बजाएर सरकारको विरोध गरे । नागरिक आन्दोलनका अगुवाले प्रधानमन्त्री ओलीलाई ‘नयाँ जंगबहादुर’को संज्ञा दिए।
झण्डै दुई तिहाई मत पाएर पनि सरकारले काम नगरेकामा स्रष्टाले आक्रोश पोखेका थिए । अनि उनीहरुले शासकलाई सभ्य हुने र औकातमा रहने काइदा सुझाए ।
कवि नवीन प्यासीले शासक दूरदर्शी नहुँदा म्यूजिकल चेयरजस्तै अर्काको इशारामा नाच्ने भन्दै कवितामार्फत व्यङ्ग गर्नुभयो ।
अनि बाघचाल खेलमा बाघ कसरी थुनिन्छ र चेस खेलमा कसरी राजा अर्थात शासक हार्छन् भन्ने पनि प्यासीले प्रष्ट्याउनुभयो ।
अहिलेको राजनीतिक घटनाक्रमलाई कवि निर्भिकजंग रायमाझीले कोतपर्वसँग तुलना गर्नुभयो ।
इतिहासमा पनि गलत कदम चाल्ने शासकविरुद्ध सबै नागरिक सडकमा उत्रिएको र गलत शासक ढलेको भन्दै श्रष्टाले ओलीको गलत कदम पनि धेरै समय नटिक्ने सन्देश दिन खोजेका थिए ।
प्रतिक्रिया